गाउँ-बस्ती कुण्ठा र निराशाले भरिएको छ। परिवर्तनको हुटहुटी हुनेहरूले गाउँ छोडेका छन्। बस्ती निर्माणको ढाँचा तथा समग्र प्रणालीको पुनर्संरचना नगरे गाउँ अझै रित्तिनेछ।
लुकामारी छ। विकास थिएन; मानिसको चहलपहल गाउँ-बस्तीमा बाक्लो थियो। विगतको तुलनामा सडक-पुलपुलेसा बनेका छन्। बिजुली र सञ्चार सुविधा घर–घरमा पुगेको छ। टोल–टोलमा खानेपानीको पहुँच छ। विद्यालय र स्वास्थ्य चौकीहरू थपिएका छन्। धुले सडकहरू स्तरोन्नति हुँदैछन्।
कच्ची घरहरूलाई जस्तापाता र सिमेन्टका घरहरूले विस्थापन गरे। ठाउँ–ठाउँमा विद्युत्का पावर हाउस बने। विकासका सूचकहरू सकारात्मक बन्दैछन्। विगतको ‘आफ्नो गाउँ आफैं बनाउँ’ भन्ने नाराले गाउँ विकासमा एउटा सकारात्मक सन्देश छर्यो ।
तीन तहका सरकार बनेपछि विकासले अझ गति लियो। तर विडम्बना गाउँ-बस्तीमा पूर्वाधारहरू थपिंदै जाँदा उपभोग गर्ने मानिस पातलिए। बाबु–बाजेदेखि आर्जेको अचल सम्पत्ति चटक्कै छोडेर हिंडेका छन्। यो रहर कि बाध्यता ? व्यापक खोजीको विषय हो।
गाउँ निर्जन र सुनसान बन्दैछन्। ३४ पहाडी र हिमाली जिल्लाको जनसंख्या घटेको छ। रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम सबैभन्दा बढी जनसंख्या ऋणात्मक भएका ५ जिल्ला हुन्। जसको जनसंख्या क्रममा १.६५, १.५६, १.३२, १.३२, १.२६ प्रतिशतले ऋणात्मक भएको जनगणना २०७८ ले देखाउँछ ।त्यसैगरी सिन्धुपाल्चोक, धनकुटा, दोलखा, गोरखा, बाग्लुङ, लमजुङ, पाल्पा, म्याग्दी, ओखलढुंगा, ताप्लेजुङ, नुवाकोट, काभ्रे, इलाम, दैलेख, बैतडी, डोटी, धादिङ, बझाङ, डडेल्धुरा, सल्यान, सोलुखुम्बु, तनहुँ, संखुवासभा, स्याङ्जा, गुल्मी, अछाम, पर्वत, अर्घाखाँची र पाँचथर जनसंख्या घटेका जिल्ला हुन्।
एकातिर जनसंख्याको वृद्धिदर ऋणात्मक हुनु अर्कोतिर बसाइँसराइ गर्ने दर उच्च हुनुले ग्रामीण बस्ती रित्तिने सङ्केत गर्छ। गाउँप्रति भरोसा छैन। निराशा छ। हिमाल र पहाडबाट तराई झर्ने तथा गाउँबाट शहर हुँदै विदेश जाने प्रवृत्ति व्यापक बढेको छ। समग्र देशको जनसंख्या वृद्धिदर ०.९२ हुनु नै कम हो। जन्मदर स्वात्तै घटेको छ।
अहिलेको जनसंख्या वृद्धिदरले देशको कुल जनसंख्या बढ्दैन। उर्बर जनशक्ति पलायन हुनु चिन्ताको विषय हो। जनसंख्याको यो चित्रले हिमाली र पहाडी गाउँ–बस्ती थप निर्जन हुने खतरा बढेको छ। राज्यले उपयुक्त नीति बनाउन ढिलो भयो।
केही वर्ष अगाडिसम्म कक्षाहरूमा विद्यार्थी भरिभराउ हुन्थे। सेक्सन थपिएका हुन्थे। गाउँमा जनसंख्या घटेसँगै विद्यालयमा त्यसको प्रत्यक्ष प्रभाव परेको छ। नारायण मा.वि. भीरकोट (तामाकोशी गा.पा, दोलखा) मा २०७९ मा कक्षा ११ र १२ समेत गरी २२० विद्यार्थी रहेकोमा यो वर्ष १७६ छन् । वैतेश्वर मा.वि. नाम्दु (वैतेश्वर गाउँ पालिका; दोलखा) मा २०७९ मा २०१ जना भएकोमा यो वर्ष १७१ मा झरेका छन् ।
बुस्ती आधारभूत विद्यालय (दोलखा) २०७९ मा ६८ जना विद्यार्थी भएकोमा यो वर्ष घटेर ६० जना भए। भर्ना वर्ष २०८१ मा विद्यार्थी अझ घट्न सक्ने अनुमान प्रधानाध्यापक केदार खड्काले गरे। गाउँमा बच्चा नहुँदा विद्यालयमा विद्यार्थी भर्ना कसरी हुन्छन् भन्ने प्रश्न छँदैछ ।
२०७२ को भूकम्पपछि हरेक स्कुलका आलिसान भवन र सुविधासम्पन्न कक्षाकोठा बने तर विद्यार्थीको सङ्ख्या न्यून हुँदै गयो। यही गतिमा विद्यार्थी घट्दै जाने हो भने विद्यालय मर्ज वा बन्द बाहेकको विकल्प देखिंदैन। विद्यार्थी घट्ने समस्या हिमाली र पहाडी जिल्लाको साझा समस्या बनेको छ।
२०५० को दशकसम्म गाउँ-बस्तीमा छुट्टै रौनकता थियो। गाउँहरू भरिभराउ थिए। मानिसहरू दु:खजिलो र अर्म-पर्म खेतीबाट जीवन धानेर बसेका थिए। गाउँबाट शहर पस्ने तथा विदेश जाने प्रक्रिया विश्वव्यापी भएतापनि माओवादी विद्रोहले त्यसलाई मलजल गर्यो। धेरै मानिसले गाउँ छोडे।
शान्ति बहाली पछि गाउँ फर्केलान् भन्ने अनुमान गलत साबित भयो। गाउँ छोड्ने दर ज्यामितीय अनुपातमा बढ्यो। अहिले घर–घरमा ताला लागेका छन्। ताला नलागेका घरमा बुढाबुढी र अशक्त छन्। तन्नेरी देख्न मुस्किल छ।
बनेका र बन्दै गरेका पूर्वाधार प्रयोगविहीन हुने जोखिम बढेको छ। गाउँका आधारभूत विद्यालयहरू बन्द हुने तर्खरमा छन्। माध्यमिक विद्यालय/कलेजहरूमा विद्यार्थी स्वात्तै घटेका छन्। ग्रामीण शहर तथा सदरमुकामहरूमा जन-घनत्व केही बाक्लो भएतापनि बाँकी बस्तीमा जनसंख्या ज्यादै पातलो छ। गाउँ छोड्ने प्रतिस्पर्धा नै चलेको छ।
गाउँमा बस्नु गरिबीको परिचायक मान्न थालिएको छ। सकेसम्म छिटो गाउँ छोड्नुपर्छ भन्ने सामाजिक मान्यता विकास भएको छ। यो राम्रो सङ्केत होइन। कहिले र कहाँ गएर यो प्रवृत्ति रोकिन्छ अनुमान गर्न कठिन छ।
परम्परागत कृषि व्यावसायिक हुन सकेन । दिनप्रतिदिन कृषि उत्पादन घट्दो छ। कृषकले समयमा मल-बीउ, विषादी, कृषि औजार पाउँदैनन्। बाँदर, दुम्सी लगायत जंगली जनावरले उत्पादित फसल नष्ट गरिदिन्छन्। सिंचाइको राम्रो व्यवस्था नहुँदा आकाशको भर पर्नुपर्छ। खडेरी, अधिक वर्षा, असिनापानी, हावाहुरीको मार सहनुपर्छ।
थोरै उत्पादन हुँदा बिक्री–वितरणमा समस्या छ। बेचे पनि भाउ आउँदैन। लागत उठ्दैन। खेतीपाती गर्ने जनहरू शहर र विदेश पुगे। बुढाबुढीले खेती गर्न सक्ने अवस्था छैन। खेतबारी बाँझो छ। वर्षभरि दु:ख गर्दा पनि एक छाक मीठोमसिनो खान र एकजोर कपडा फेर्न धौ–धौ हुन्छ।
मौद्रिक आम्दानी गर्न चुनौती छ। यातायात प्रणाली भरपर्दो छैन। एक ठाउँबाट अर्को ठाउँमा पुग्न दिन भर लाग्छ। कतिपय ठाउँमा हिंड्नुको विकल्प छैन।
कमजोर स्वास्थ्य सुविधा
गाउँघरमा स्वास्थ्य चौकी र जिल्ला अस्पताल बनेका छन् तर तिनले सिटामोल समेत दिन सक्दैनन्। उपचारको कुरा त छोडिदिए हुन्छ। डाक्टरको अनुहार देख्न मुस्किल हुन्छ। रोग लाग्यो भने भगवान् भरोसामा बाँच्नुपर्छ। उपचारका लागि काठमाडौं लगायत ठूला शहरमा जानुको विकल्प छैन। गाउँ–बस्ती रित्तिनुको एउटा कारण कमजोर स्वास्थ्य सुविधा हुनुपर्छ।
शिक्षा
मानिसहरूले उच्च शिक्षाको लागि शहर भरपर्दो विकल्प ठाने। नयाँ पुस्ताको गन्तव्य देश मात्र रहेन; विदेश पनि बन्यो। विदेश जान गाउँमा बसेर हुँदैन भन्दै बालबच्चा सहित अभिभावक शहर पसे। पस्दै छन्।
ग्रामीण क्षेत्रमा साधारण विषयका क्याम्पस नभएका होइनन् तर तिनीहरूले मानिसलाई रोक्न सकेनन्। गाउँमा ११ र १२ कक्षासम्म पनि पढाइ हुन्छ। तर ग्रामीण स्कुल र कलेजप्रति मानिसले भरोसा गरेनन्। हुलका हुल शहर छिरे।
रोजगारी
मानिस शहर पस्नुको प्रमुख कारण रोजगारी हो भन्ने ठानिन्छ, गाउँ-बस्तीले भनेजस्तो अवसर दिएन। कृषि बाहेक रोजगारीका अरू अवसर भएनन्। मानिसले कृषिमा भविष्य देखेनन्। सरकारी-गैरसरकारी तथा सेवा क्षेत्रको अवसर शहरले दिने हुँदा मानिसहरूले गाउँ छोडे। छोड्दै छन्।
सामाजिक वातावरण
राजनीतिले गाउँ–बस्ती गिजोलेको छ। मानिसलाई राजनीतिक पार्टीमा लाग्न बाध्य बनाउँछन्। सानो काम गर्न/गराउन राजनीतिक पार्टीको पछाडि लाग्नै पर्छ। राजनीतिप्रति निराशा छ। गाउँको राजनीतिबाट वाक्क मानिसहरू शहर छिरेर स्वतन्त्रताको महसुस गर्न चाहन्छन्। उद्यमशीलताको वातावरण छैन। सानो काम गर्न खोजे पनि मानिसहरूले खुट्टा तान्छन्।
कुरा काट्नेहरूको जमातै हुन्छ। गाउँ कुरौटेहरूको जमात हो। अरुको कुरा काटेर दिन बित्छ। त्यति मात्र होइन; जातीय विभेदको जरो गहिरो छ। जातीय विभेदले गाउँमा पिरोल्छ। परिवर्तनको हुटहुटी हुनेहरू गुणस्तरीय जीवनको खोजीमा सारा अचल सम्पत्ति छोडेर बाहिरिएका छन्।
नयाँ मानिसलाई केही दिन गाउँ-बस्ती रमाइलो हुन्छ। हरियाली छ। डाँडाकाँडा-हिमाल-पहाडले मनमोहक बनाउँछन्। तर सधैं गाउँमा बस्नेहरूका कथा र व्यथा अनेक छन्। गाउँ-बस्ती कुण्ठा र निराशाले भरिएको छ। परिवर्तनको हुटहुटी हुनेहरूले गाउँ छोडेका छन्। बस्ती निर्माणको ढाँचा तथा समग्र प्रणालीको पुनर्संरचना नगरे गाउँ अझै रित्तिनेछ। सरकारले यसबारे सोच्ने बेला भयो।