छ दशक नाघेको भरतपुर सरकारी अस्पताल सधैं बिरामीले भरिभराउ देखिन्छ । सस्तो शुल्कमा राम्रो उपचार पाइने भए पनि थोरै जनशक्तिमा बढ्दो सेवाग्राहीको चाप धान्न अस्पताललाई हम्मेहम्मे परिरहेको छ ।
चितवन — भाइबुहारी फूलमाया तामाङलाई शनिबार मध्याह्न सुत्केरी बेथा लागेपछि मकवानपुर मनहरीकी लक्ष्मी थिङ ३६ किलोमिटर पूर्व पर्ने आफ्नै जिल्लाको हेटौंडा अस्पताल नगएर ४६ किलोमिटर पश्चिमको भरतपुर अस्पतालतर्फ मोडिइन् । शनिबार साँझ फूलमायाको कोखबाट छोरा जन्मियो । नवजात शिशु आडैमा राखेर लक्ष्मीले सुनाइन्, ‘बच्चाको वजन बढी छ, राम्रै सुविधा भएको अस्पताल लैजानु भनेका कारण यहाँ आएको हो ।
चितवन — भाइबुहारी फूलमाया तामाङलाई शनिबार मध्याह्न सुत्केरी बेथा लागेपछि मकवानपुर मनहरीकी लक्ष्मी थिङ ३६ किलोमिटर पूर्व पर्ने आफ्नै जिल्लाको हेटौंडा अस्पताल नगएर ४६ किलोमिटर पश्चिमको भरतपुर अस्पतालतर्फ मोडिइन् । शनिबार साँझ फूलमायाको कोखबाट छोरा जन्मियो । नवजात शिशु आडैमा राखेर लक्ष्मीले सुनाइन्, ‘बच्चाको वजन बढी छ, राम्रै सुविधा भएको अस्पताल लैजानु भनेका कारण यहाँ आएको हो ।
फूलमायाले चार वर्षअघि पहिलो सन्तानलाई पनि यही अस्पतालमा जन्माएकी थिइन् । लक्ष्मीले सुनाइन्, ‘पहिलो पटक पनि यहीं आएको हो । त्यसैले अहिले पनि यहीं आयौं । यहाँ राम्रो हुन्छ भन्ने सुनेका थियौं । त्यसैले आयौं ।’ उनले चार वर्ष र अहिलेको अवस्था तुलना गर्दै अहिले अस्पतालमा भीड बढेको तर पहिलेभन्दा सरसफाइ राम्रो देखिएको बताइन् ।
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ कुसुन्डेका पदमबहादुर दराई खुट्टामा चोट लागेपछि भाइलाई जँचाउन गत जेठमा भरतपुर अस्पताल आएका थिए । घरदेखि झन्डै ५० किलोमिटर परेको अस्पतालमा भाइलाई एक महिना उपचार गराएर फर्केका पदम फेरि श्रीमती सुनमायाको उपचारका लागि यहीं नै आएका छन् । उनले भने, ‘हामी त आउने ठाउँ नै यहीं हो । सस्तो पनि छ, उपचार ठीकै पनि लाग्छ ।’ चितवनका अलवा फूलमाया र पदमबहादुरजस्ता छिमेकी जिल्लाबाट आउने सेवाग्राहीले सधैं भरिएको हुन्छ, भरतपुर सरकारी अस्पताल । यो अस्पतालमा सेवाग्राहीको कति भीड हुन्छ भन्ने बुझ्न गत आर्थिक वर्षमा ओपीडीमा सेवा लिन आएका सेवाग्राहीको संख्या हेरे मात्रै पुग्छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले दिएको जानकारीअनुसार गत आर्थिक वर्षमा ३ लाख ७ हजार १ सय २१ जना ओपीडीमा सेवा लिन आएका थिए । ओपीडीमा आएकामध्ये ३१ हजार १ सय ३७ जना भर्ना भएर उपचार गराएका थिए । भर्ना भएकामध्ये ९ हजार १ सय ३३ जनाको शल्यक्रिया भएको थियो ।
यो अस्पताल विरलै सुनसान देखिन्छ । टिकट लिने काउन्टर होस् या डाक्टर भेट्ने ओपीडी कोठा, प्रयोगशालाको ढोका बाहिर होस् कि फार्मेसी । जताततै हूलका हूल सेवाग्राही भेटिन्छन् । अस्पतालका मेडिकल रेकर्डर नारायणप्रसाद रिजालका अनुसार असोज ४ गतेमात्रै ओपीडीमा दुई हजार ६ सय ९ र आकस्मिक कक्षामा २ सय ३१ सेवाग्राहीहरू आए । रिजालले साउन २१ मा २ हजार ९०, भदौ ३ मा २ हजार १ सय ५० जना र भदौ १७ मा २ हजार ३ सय ९६ जना सेवाग्राही ओपीडीमा आएको बताए । उनले भने, ‘तीन हजारकै हाराहारीमा अस्पतालमा सेवा लिन आउने भएपछि थामिनसक्नुको भीडभाड बढेको छ ।’
मेडिकल सुपेरिन्टेन्डेन्ट डा.कृष्णप्रसाद पौडेलले यो अस्पताल अत्यधिक सुत्केरी सेवा दिने अस्पतालमध्येमा पर्ने बताए । उनले एक वर्षमा ६ हजार ८ सय २ जना सामान्य तरिकाले सुत्केरी भएको उल्लेख गर्दै भने, ‘अस्पतालमा ६ सय बेड (शय्या) सञ्चालनमा छ । गत वर्ष अस्पतालको बेड अकुपेन्सी (बिरामीले बेड भरिने) दर ८१ प्रतिशत थियो । यो वर्ष ९० प्रतिशत नाघ्छझैं छ ।’ उनले अस्पतालको अकुपेन्सी दर ७० प्रतिशत भए व्यवस्थापन गर्न सहज हुने उनले बताए । अहिले व्यवस्थापनमा निकै हम्मेहम्मे परेको र सेवाग्राहीले सोचेअनुरूपको सेवा पाउन नसकेको पनि हुन सक्ने उनले बताए ।
दैनिक सयौंको संख्यामा सेवाग्राहीलाई सेवा दिइरहेको यो ६७ वर्ष पुरानो अस्पतालको आफ्नै इतिहास छ । चितवनको बस्ती विस्तारको कोसेढुंगा मानिएको राप्तीदून विकास परियोजनाको इतिहाससँगै जोडिएर आउँछ भरतपुर अस्पतालको इतिहास । २०१३ सालमा राप्तीदून विकास परियोजनाले हालको जिल्ला प्रहरी कार्यालय अगाडि स्वास्थ्य केन्द्र खोल्यो । जसको प्रमुख भएर आए, डा.हिरण्यदेव प्रधान । यिनै प्रधानको प्रयास अमेरिकी सहयोगमा भरतपुरमा अस्पतालको पक्की भवन बन्यो । २०२० पुसमा तत्कालीन राजा महेन्द्रले उक्त भवनको उद्घाटन गरे र यसको नाम रह्यो, महेन्द्र आदर्श चिकित्सालय । २०६२/६३ को यो अस्पतालको नाम फेरेर भरतपुर सरकारी अस्पताल राखियो ।
यो अस्पतालमा चितवनका सेवाग्राही मात्रै आउँदैनन् । मकवानपुर मनहरीकी लक्ष्मी र नवलपरासी मध्यबिन्दुका पदमबहादुर जस्ता कम्तीमा २२ जिल्लाका बिरामी यहाँ आइपुग्छन् । अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा.पौडेलका अनुसार यहाँ मकवानपुर, नवलपरासीका दुवै खण्ड, धादिङ, तनहुँ, गोरखा र लमजुङ जिल्लाका अत्यधिक बिरामी आइपुग्छन् । सरकारले स्वास्थ्य बिमा बोर्डमार्फत उपचार सेवामा बिमा सुविधा ल्याएपछि त्यसको चाप अस्पतालको ओपीडी र फार्मेसी तथा प्रयोगशालामा परेको देखिन्छ । परिवारका पाँच जनासम्म सदस्यको स्वास्थ्य बिमा ३ हजार ५ सय रुपैयाँ तिरेर गर्न सकिने र बिमा सुविधा भएको अस्पतालमा उपचार गर्न जाँदा बिमा गरेको वर्ष दिनभित्र एक लाख रुपैयाँसम्मको सुविधा पाइन्छ । अहिले भरतपुरको अस्पतालमा ओपीडीमा देखिने भीडमा बिमा गरेकाहरू अत्यधिक छन् ।
मेडिकल सुपेरिन्टेन्डेन्ट डा.पौडेलले सर्वाधिक सेवाग्राही भएको असोज ४ मा ओपीडीमा आएकामध्ये २ हजार १ सय ४३ जना बिमा गरेकाहरू भएको बताए । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार गत वर्ष कुल ओपीडीमा आएका ३ लाख ७ हजार १ सय २१ मध्ये २ लाख २१ हजार ३ सय ३१ बिमा गरेका थिए । उनले अस्पताल आउनेमध्ये ७० प्रतिशतसम्म बिमा गरेका सेवाग्राही रहेको बताए । स्वास्थ्य बिमा बोर्डले नियमित औषधि खाने दीर्घरोगीहरूलाई औषधि लिन प्रत्येक महिना अस्पताल जानुपर्ने नियम बनाएको छ । अस्पतालको बिमा युनिटका इन्चार्ज लीला पौडेलले ‘त्यस्ता दीर्घरोगीहरू एकपटक अस्पताल आउँदा दुई महिनासम्मको औषधि लैजान पाएयता ओपीडी र फार्मेसीमा पर्ने चाप कम हुन सक्छ ।’
जनशक्तिकै अभाव
राजा महेन्द्रले उद्घाटन गर्दा अस्पताल २५ शय्याको थियो । २०४० सालमा शय्या बढेर ५० पुग्यो भने २०५० सालमा शय्या बढेर दोब्बर अर्थात् सय पुग्यो । २०६१ सालमा शय्याको संख्या १ सय ५० पुग्यो । २०६७ सालमा अस्पतालले तीन सय शय्याको स्वीकृति पायो । त्यही बेला अस्पताल विकास समितिमार्फत थप तीन सय शय्या थपेपछि अहिले अस्पताल ६ सय शय्यामा चलिरहेको छ ।
२०७५ फागुन ३ मा सरकारले भरतपुर अस्पताललाई संघीय मन्त्रालयअन्तर्गत रहने विशिष्टकृत रेफरल अस्पताल बनाउने भन्दै पाँच सय बेडको स्वीकृति दियो । सुपेरिन्टेन्डेन्ट डा.पौडेलले भने ‘यो बेडअनुसार जान हामीलाई १ हजार ८७ दरबन्दी चाहिन्छ । अस्पताल विकास समितिमार्फत पनि गरेर ६ सय बेडमा चल्दै आएको छ । जबकि सरकारी दरबन्दी भने १ सय ५० बेडको अस्पताललाई पुग्ने गरी १ सय ७५ जनाको मात्रै छ ।’ स्थायी दरबन्दी १ सय ७५ भए पनि अहिले अस्पतालमा दरबन्दीका १ सय ६८ जना मात्रै कार्यरत छन् । अस्पताल विकास समितिले आफ्नो आम्दानीबाट तलब दिने गरेर ६ सय ६५ जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू राखेको छ ।
अस्पताल विकास समितिले थप कर्मचारी चिकित्सक राखे पनि पनि बेड र जनशक्तिको अनुपात मिलेको छैन । डाक्टर पौडेलले भने, ‘हामीलाई शल्यक्रियाअघि बेहोस पार्ने डाक्टर (एनेस्थेसियालोजिस्ट) को अभाव छ । ४० जना जति शल्यक्रिया गर्ने चिकित्सक छन् । यो संख्याअनुसार १० जना एनेस्थेसियालोजिस्ट चाहिन्छ । तर सरकारी दुई र अन्य चार गरेर ६ जना मात्रै छन् ।’ उनले जनरल सर्जन विभागमा १० जना शल्यचिकित्सक रहेकामा सरकारी दरबन्दीका एक जना पनि नभएको बताए । अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको चाप बढेका कारण हाल रहेको सात शल्यक्रिया कक्ष बढाएर १५ वटा बनाइएको उनले बताए । शल्यचिकित्सकको पर्याप्त सरकारी दरबन्दी नहुनु र ३५ प्रतिशतसम्म बढी भत्ता दिन्छु भन्दा पनि एनेस्थेसियालोजिस्ट नपाइँदा बढाउन सम्भव नभएको उनले बताए । जनशक्तिको अभावमा अहिले पित्तथैलीमा हुने ढुंगाको अप्रेसन गर्नुपर्दा नौ महिनासम्म पालो कुर्नुपर्ने अवस्था छ । डाक्टर पौडेलले पित्तथैलीको पत्थरीमा धेरैले बिनाचिरफार गरिने सेवा रोज्ने भएकाले पालो कुर्नुपरेको हो । उनले अस्पतालमा मुटु उपचारका लागि क्याथ ल्याब र एमआरआई मेसिनको पनि अभाव भएको उल्लेख गर्दै अहिले दिनहुँ १५/२० वटा एमआरआई गर्नुपर्नेहरूलाई बाहिर पठाउनुपर्ने बाध्यता रहेको बताए । सुत्केरीको केस धेरै हुने भए पनि यो अस्पतालमा बच्चाका लागि एनआईसीयू, पीआईसीयू भए पनि अहिलेसम्म बच्चाको सर्जन छैनन् । त्यस्तै फोक्सोको शल्यक्रिया सेवा पनि यहाँबाट सुरु हुन सकेको छैन ।
शिक्षण संस्था बनाउने योजना अधुरै
भरतपुर अस्पताल विकास समितिमा २०७१ सालदेखि दुई वर्ष अध्यक्ष भएका थिए विजय सुवेदी । ६१ सालमा तयार भएको गुरुयोजना उनको कार्यकालमा स्वीकृत भएको थियो ।
जसमा यो अस्पताललाई हजार शय्याको बनाउने कुरा मात्रै छैन । आवश्यक जनशक्ति व्यवस्थापन गर्न चिकित्सा शिक्षामा एमडी, एमएस पढाउने योजना पनि छ । पूर्वअध्यक्ष सुवेदीले भने, ‘त्यसो भयो भने अस्पतालमा आवश्यक हुने जनशक्ति केही हदसम्म पूरा पनि हुन्छ ।’ भरतपुर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक कलेज बनाउने २०७९ सालको चैत १० मा निर्णय भएको थियो । गत वर्ष न्याम्सको सिनेटले यो निर्णय पारित गरेको थियो । तर कलेज चलाउन लागि भवन र क्वाटर बनाउन कम्तीमा १६ बिघा जग्गा आवश्यक हुन्छ । भरतपुर अस्पतालसँग जग्गा नभएको होइन । तर सबै जग्गाको भोगचलन अस्पतालले गर्न सकेको छैन ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले अस्पतालको नाममा ३१ बिघा ११ कट्ठा जग्गा भए पनि अस्पतालले उपभोग गरेको जग्गा १२ बिघा जति भएको बताए । अस्पतालसँग कुनै सम्झौता नगरी सीटीईभीटीले २०५२ सालदेखि करिब पाँच बिघा जमिन उपभोग गर्दै आएको छ । नेत्र ज्योति संघले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालले चार बिघा जग्गा ओगटेको छ । पौडेलका अनुसार संघलाई जग्गाका भोगाधिकार भने मन्त्रिपरिषद्ले दिएको थियो । सीटीईभीटी र आँखा अस्पतालले प्रयोग गरेको जग्गाको कुनै पनि शुल्क भरतपुर अस्पतालले पाउँदैन ।
यति मात्रै होइन, अस्पतालको नौ बिघा जग्गा ४९ वर्षे सम्झौता गरेर २०५२ सालमा पुरानो मेडिकल कलेजलाई दिइएको थियो । यो नौ बिघाबाहेकको जग्गा गुरुयोजनाअनुसार भरतपुर अस्पतालकै स्वामित्वमा आउने देखिए पनि स्वामित्व लिन तदारुकता देखाएको पाइँदैन । त्यसैगरी ०७२ सालपछि सबै सरकारी जग्गा लिज ऐनअनुसार सम्झौतामा जानुपर्ने सरकारी नियम आए पनि पुरानो मेडिकल कलेज ०५२ सालको सम्झौतापछि परिवर्तित अरू नियमअनुसार शुल्क तिर्न तयार छैन । पुरानो सम्झौताअनुसार मेडिकल कलेजले भरतपुर अस्पताललाई वर्षमा ६५ लाख रुपैयाँ बुझाउँछ ।
मेडिकल सुपेरिन्टेन्डेन्ट डा.कृष्णप्रसाद पौडेलले नयाँ लिज ऐनअनुसार गए कम्तीमा पनि वर्षको १ करोड ५० लाख रुपैयाँ तिर्नुपर्ने बताए ।
त्यसो त मेडिकल कलेजले नियमित भाडा तिर्न पनि आनाकानी गर्दै आएको छ । नयाँ लिजअनुसार गए मेडिकल कलेजले तिर्नुपर्ने तीन करोड रुपैयाँ नतिरेको भनेर २०७४ सालको महालेखा परीक्षकको कार्यालयले समेत प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनमा हरेक वर्ष बेरुजु रकम र त्यसको ब्याजबापतको रकम जोडेर उल्लेख गर्दै आएको छ ।
सेवाग्राहीको चाप बढ्दै गए पनि अस्पतालले गत वर्षको साउनबाट ओपीडी टिकट निःशुल्क गरेको छ भने गत वर्षको मंसिरबाट अनलाइनबाट टिकटको व्यवस्था गरेको छ । ओपीडी अगाडि लाग्ने लामो लाइन र भीडभाड कम गर्न यस्तो व्यवस्था अस्पतालले गरे पनि सेवाग्राहीको चाप बढ्दै जाँदा ओपीडी अगाडि सधैं भीडभाड नै देखिन्छ ।
भौगोलिक हिसाबले पायक पर्ने ठाउँमा भएर मात्रै होइन, सस्तो सेवा शुल्कका कारण पनि अस्पतालमा सेवाग्राहीको भीड बढिरहेको बुझ्न कठिन छैन । जस्तो कि, निजी अस्पतालमा एक लाख हाराहारी पर्ने शल्यक्रिया यहाँ साढे १२ हजारमै हुन्छ । त्यस्तै निजी अस्पतालले नौ सयको हाराहारी शुल्क लिएर गर्ने एक्सरे यहाँ चार सय रुपैयाँमै हुन्छ । मेडिकल सुपेरिन्टेन्डेन्ट डाक्टर पौडेलले भने, ‘सबै खाले सेवाहरू सस्तो छ । गुणस्तरीय पनि छ । बाहिरभन्दा कम्तीमा ५० प्रतिशत सस्तो त पर्छ ।’